भारतले पुलवा आक्रमणको बदलामा पाकिस्तान जाने तीनवटा नदी थुन्यो |

काठमाडौं । भारतले हालैको आक्रमणको बदला पाकिस्तान जाने तीनवटा नदीको पानी बन्द गरेर लिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदी बन्द गरिएको बताएका हुन् ।
काश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधनमन्त्री नितिन गडकरीले पाकिस्तान जाने नदीको पानी बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिश गर्ने बताएका थिए । अहिले राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राज्यमन्त्री मेघवालले तीनवटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पञ्जावलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइनेछ । भारतीय केन्द्रीय जलसंशाधनमन्त्री नितिन गडकरीले सिन्धु सम्झौताअनुसार भारतले आफ्नो हिस्साको पानी मात्र पाकिस्तान जानबाट रोकेको दाबी गरेका छन् ।
भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौताअनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।
पुलवा आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ । पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएका थिए । आक्रमणको जिम्मा जैश ए मोहम्मदले लिएको थियो ।
जैश ए मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण गरेको र भारतलाई आक्रमण गर्न प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । तर, यसलाई पाकिस्तानले खण्डन गर्दै आएको छ । यद्यपि भारत र पाकिस्तानबीच हालै हवाई हमलासम्मका घटना भएका थिए ।