आज कारोबार रोकिएकोमा नेप्सेले लगानीकर्तासँग माग्यो माफी |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारका लगानीकर्ताहरूसँग माफी मागेको छ । आज आइतबार नेटवर्कमा समस्या आएर कारोबार रोकिएकोमा नेप्सेले अपरान्ह विज्ञप्ति जारी गर्दै लगानीकर्तासँग माफी मागेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कारोबार प्रणाली निर्माता कम्पनी वाईको प्रालिले नेटवर्कमा समस्या आएकाले कारोबार नभएको जानकारी गराएको छ, यो विषयमा धितोपत्र बोर्डलाई समेत जानकारी गराएका छौं, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमाप्रार्थी छ ।’
आज दिउँसो १२ बजेर ४६ मिनेटपछि समस्या आएर कारोबार रोकिएको भन्दै नेप्सेले समस्या आउनुअघिको भने नियमित राफसाफ हुनेसमेत जानकारी गराएको छ ।
समस्यापछि नेप्सेका अधिकारीहरू प्राविधिकसहित आकस्मिक बैठक बसेका थिए । भोलिदेखि त्यस्तो समस्या नआउने गरी समस्या सुल्झाइएको नेप्सेले जानकारी दिएको छ ।