पञ्जाव नेशनल बैंक डुबाउने नीरव मोदी लण्डनमा फेला परे |

काठमाडौं । पञ्जाव नेशलल बैंकलाई जालसाजी गरी झण्डै १३ हजार करोड भारतीय रुपैयाँ नतिरी भागेका एक व्यापारी लण्डनमा हीराको कारोबार शुरू गरेर बसेको पत्ता लागेको छ । बेलायतको अखबार टेलिग्राफका अनुसार पञ्जाव बैंकको उक्त रकम नतिरी बेलायत भागेका हीराको कारोबारी नीरब मोदी लण्डनमा भएको पत्ता लागेको हो ।
उनी अहिले लण्डनमै घडी तथा ज्वेलरीको होलसेल तथा रिटेल पसल दर्ता गरेर बसेको टेलिग्राफले उल्लेख गरेको छ । तर, उक्त पसल उनको नाममा दर्ता भने नभएको उल्लेख गरिएको छ ।

टेलिग्राफले नीरब लण्डनको वेस्ट इन्ड क्षेत्रमा घुमिरहेको फेला पारेको उल्लेख गरेको छ । उक्त अखबारका अनुसार मोदी हाल त्यसै क्षेत्रको ८० लाख पाउण्ड पर्ने भब्य अपार्टमेन्टमा बस्ने गरेका छन् । मोदी आफ्नो अपार्टमेन्टदेखि अफिससम्म कुकुर लिएर पैदल आउने जाने गर्छन् । टेलिग्राफका अनुसार नीरबले हाल दाह्री जुँगा पालेका छन् । तस्वीरमा उनले अस्ट्रिच हाइडको ज्याकेट लगाएको देखिएको छ जसको मूल्य ८ लाख भारतीय रुपैयाँभन्दा बढी छ ।
टेलिग्राफका पत्रकारले मोदीलाई अनेक प्रश्न गरे पनि कुनै जवाफ नदिएको उल्लेख गरिएको छ । (एजेन्सी)