आज सबै म्यानपावर कम्पनी बन्द | राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं : संघ
काठमाडौं । वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष रोहन गुरुङको घरमा नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले बम विष्फोट गराएको विरोधमा आज आइतवार सबै म्यानपवरहरू बन्द गरिएका छन् । संघका अध्यक्ष गुरुङले विप्लब समूहले माग गरेअनुसार चन्दा रकम दिन अस्वीकार गरेपछि गत शुक्रवार उनको घरमा शक्तिशाली बम विष्फोटन गराएको थियो ।
घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै संघले नै आज आइतवार म्यानपावरहरू बन्द गर्ने निर्णय गरेको हो । संघले आज आइतवार व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको संघका महासचिव नरेश गेलालले जानकारी दिए ।
उनले भने, ‘व्यवसायमा असुरक्षाको अवस्था सृजना भएको छ, अब कसरी अघि बढ्ने भन्नेबारे भेलाले निर्णय लिन्छ । राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं ।’
विप्लब समूहले जिम्मेवारीसमेत लिइसकेको उक्त बम विष्फोटनमा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो । वैदेशिक रोजगार व्यवसायी संघले यसअघि विप्लब समूहले माग गरेको चन्दा दिन अस्वीकार गरेको थियो ।