नेपथ्य दोस्रो पटक दुबईमा कन्सर्ट प्रस्तुत गर्दै |
काठमाडौं । नेपालको चर्चित ब्याण्ड नेपथ्य समूह दोस्रो पटक दुबईमा प्रस्तुत हुने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख शहर दुबईमा यही मार्च १५ तारिखका दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा आयोजना गरिने कन्सर्टमा भाग लिनेछ ।
यसअघि यस ब्याण्डले मुलुकले कठिन परिस्थिति बेहोरिरहेको क्षणमा पूर्वनिर्धारित कार्यक्रमको बाध्यताले त्यहाँ पुग्नुपरेको थियो । भुइँचालोलगत्तै तय रहेको सन् २०१५ मे २१ तारिखको दुबई कन्सर्टलाई ब्याण्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रूपमा लिएको थियो । त्यसैले उक्त कन्सर्टबाट उठेको रकम पनि ब्याण्डले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो ।
ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुने गरी यसपटक हामी फेरि पूरै जोश र जाँगरका साथ दुबई जाँदै छौं, स्रोता दर्शकलाई नचाउने रमाइला गीतहरू यस पटक प्राथमिकतामा परेका छन् ।’
खाडी राष्ट्रहरूमध्ये साउदी अरब र कतारपछिको धेरै नेपाली कामदार रहेको मुलुक दुबई हो । घर परिवारबाट टाढा रहेका उनीहरू त्यहाँ पुग्दा पनि नेपालीपनको स्वादमै रमाएर बाँचेका हुन्छन् । दुबईमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूका सामु ब्याण्ड पूरै क्षमतामा प्रस्तुत हुने धेरै पहिलेदेखिको योजना बल्ल पूरा हुन लागेको गायक गुरुङ बताउँछन् ।
उनले भने, ‘यसअघिको कन्सर्ट शोकको क्षणमा आयोजना भए पनि झण्डै २ हजार दर्शकको उपस्थितिले हामीलाई हौस्याएको थियो, त्यतिबेलै हामीले नयाँ रेकर्डिङ भएका गीत ‘कोशीको पानी यो जिन्दगानी’को म्युजिक भिडियो पनि त्यहीँ खिचेका थियौं ।’ दुबईको यसै स्थलमा कन्सर्टको बेला खिचिएको त्यो गीत नेपथ्यको आधिकारिक म्यूजिक भिडियोका रुपमा युट्युबमा उपलब्ध छ ।
गायक गुरुङले भने, ‘नेपथ्य उसका स्रोता दर्शकहरूको मायाकै जगमा अडिएको छ, अघिल्लोपटक जाँदा पाइएको आत्मीयताले नै यसपाला दुबईलाई हामीले फेरि प्राथमिकतामा राखेका हौं ।’
आयोजक मोहन लिम्बूका अनुसार उक्त कन्सर्टको टिकटदर स्थानीय मुद्रा अनुसार ५० र १०० दिराम राखिएको जानकारी दिए ।