४ महिनादेखि ग्राउन्डेड सौर्यको जहाज आजदेखि संचालनमा |

काठमाडौं । सौर्य एयरले ४ महिना देखी ग्राउण्डेड रहेको आफ्नो जहाजको आज शुक्रबार पहिलो उडान भरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता बापतको रकम बुझाएपछि शुक्रबार आफ्नो पहिलो उडान भरेको हो ।
एयरले यही मंगलबार दिउँसो बक्यौता रकमको पहिलो किस्ता बापत ५० लाख रुपैयाँ बुझाएको थियो । कम्पनीको उक्त ५० सिट क्षमतायुक्त जहाजले शुक्रबार बिहान ५० यात्रु लगेर भैरहवा उडेको कम्पनीले जानकारी दिएको छ । पहिलो उडान बिहान सवा ८ बजेको भएपनि जहाज सवा ९ बजे अर्थात १ घण्टा डिले भई उडेको थियो ।
विमानस्थलले पार्किङ, सेवा शुल्क लगायतको बक्यौता रकम नबुझाएको भन्दै करिब ४ महिना अगाडी जहाज ग्राउण्डेड भएको थियो । कम्पनीले विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकमबाट ५० लाख रुपैयाँ बुझाए पछि विमानस्थलले कम्पनीलाई जहाज संचालन गर्ने अनुमति दिएको थियो ।
कम्पनीले अवको १० दिन भित्रमा अर्को ५० लाख रुपैयाँ बुझाउने र २ महिना भित्रमा सबै रकम चुक्ता गर्ने गरी मौखिक रुपमा बताएको बताइएको छ । कम्पनीले विमानस्थललाई करिब ४ करोड रुपैयाँ बक्यौता रकम बुझाउनु पर्ने छ । पटक पटक लगानीकर्ता भित्र्याए पनि बक्यौता रकम बुझाउन नसकेको सौर्य एयरले भारतीय लगानीकर्ता कुबेर समुहलाई जहाज विक्री गरे पछि सो बक्यौता रकम बुझाउन सफल भएको हो । कम्पनीले आगामी २ वर्ष भित्रै थप १२ ओटा जहाज समेत ल्याउने भएको छ ।