उदयपुरमा १९ किलोमिटर लामो केबुलकारको डीपीआर शुरू, लागत करिब रू. ४ अर्ब |
उदयपुर । उदयपुर जिल्लाको पवित्र धार्मिकस्थल रौताक्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सञ्चालन गरिने भनिएको केबुल कारको सर्वे कार्य सम्पन्न भएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य शुरू भएको छ । जम्मा १९ किलोमिटर लामो दूरीमा सञ्चालन गरिन लागेको उक्त केबुल कारको डीपीआर कार्य शुरू हुन लागेका त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले जानकारी दिएका हुन् ।
जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म सञ्चालन गरिने उक्त केबुल कार त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा करिब रू. ४ अर्बको लगानीमा निर्माण गरिन लागेको हो ।
रू. ३ अर्ब बाह्य लगानीकर्ता र रू. १ अर्ब त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा स्थानीय जनताले समेत लगानी गर्न पाउने बताइएको छ ।
जिल्लाकै सबैभन्दा महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थलका रुपमा रहेको रौतापोखरीमा केबलकार सञ्चालन भएपछि पर्यटन विकासमा बृहत्रुपमा टेवा पुग्ने सम्बन्धित क्षेत्रका जनप्रतिनिधिले बताएका छन् । हाल रौता पोखरी क्षेत्रमा दैनिक २०० भन्दा बढी पर्यटक तथा भक्तजन आउने गरेकोमा केबुलकार सञ्चालन भएपछि दैनिक हजारौंको संख्यामा भक्तजन तथा पर्यटकको आगमन हुने स्थानीय जनप्रतिनिधिको धारणा छ ।