आईएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र बैंकको तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सर्वसाधारण तथा बैंकका ग्राहकहरूले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा पाउनुका साथै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका सेवासम्बन्धी जानकारी पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजीवनलगायतका १० बीमा योजनाहरू बजारमा ल्याएको छ । कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामीण भेगका व्यक्तिहरूको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्ने रहेको छ ।