अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध हुवावे गयो अदालत | प्रमाण जुटाउन अमेरिकी कङ्ग्रेस असफल भएको छ : अध्यक्ष गुओ पिङ

काठमाडौं । चीनको ठूलो मोबाइल तथा टेलिकम उपकरण उत्पादक कम्पनी हुवावे अमेरिकाको टेक्सास जिल्ला अदालतको ढोका ढकढक्याउन पुगेको छ । आफ्ना उत्पादनमाथि गम्भीर प्रश्न उठाउँदै अमेरिकामा प्रतिबन्ध लगाएपछि उक्त कम्पनी अमेरिकी सरकारविरुद्ध रिट हाल्न अदालत पुगेको हो ।
अमेरिकाले हुवावेका उत्पादनले गर्दा राष्ट्रिय सुरक्षा खतरा बढाएको भन्दै केही महिनाअघि उसका उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि अमेरिकाका सरकारी निकायहरूले हुवावेका उत्पादन प्रयोग छाडेका थिए । साथै अमेरिकाले आफ्ना सहयोगी राष्ट्रलाई समेत हुवावे बहिष्कार गर्न आग्रह गरेको थियो ।
तर पछिल्ला अभियोगहरू पूर्वाग्रहपूर्ण रहेको जिकिर गर्दै उसले अमेरिकाविरुद्ध मुद्दा दायर गरेको छ । बीबीसीका अनुसार, अदालतमा हुवावेद्वारा दायर रिटमा अमेरिकी कंग्रेस आरोप पुष्टि गर्न असफल भएको उल्लेख छ । अमेरिकाको आरोप निराधार भएकाले कानुनी उपचारको बाटो खोजिएको भनाइ हुवावेको छ ।
हुवावेका अध्यक्ष गुओ पिङको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘हामीमाथि जुन अभियोग लगाउँदै प्रतिबन्ध लगाइएको छ, त्यसको प्रमाण जुटाउन अमेरिकी कङ्ग्रेस असफल भएको छ । त्यसैले हामीले कानुनी उपचारको उपयुक्त र अन्तिम बाटो रोजेका हौं ।’ रिटमा चिनियाँ सरकारको लगानी नरहेको पनि प्रष्ट पारिएको छ ।