२५ बर्षमा प्रति ब्यक्ति आय साढे १२ हजार डलर पुर्याइने, पञ्चवर्षीय योजना तयार |
काठमाडौँ । सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार गरेको छ । आर्थिक वर्ष २०७६ ∕ ७७ देखि २०८० ∕ ८१ सम्म कार्यान्वयन हुने योजनाको मस्यौदा हिजो बुधवार आयोगले सरोकारवाला पक्षसँग प्रस्तुत गरी परामर्श लिएको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस्यौदा–आधारपत्रले विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिएको छ ।
विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पुर्याउने दीर्घकालीन सोचसहितको योजनामा उल्लेख छ । हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ भने कूल ग्राहस्थ उत्पादन ३० खर्ब सात अर्ब रुपैयाँ छ । गरीबीको रेखामुनि रहेको जनसङ्ख्या २१ दशमलव ६ प्रतिशत छ ।
प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकाङ्क अन्य प्रदेशको तुलनामा कम छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्रमा विसं २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने प्रतिबद्धता गरेको थियो ।
प्रधानमन्त्री, मन्त्री, सम्बन्धित मन्त्रालय, प्रदेश तह, स्थानीय तह हुँदै निजी, सामुदायिक तथा बौद्धिक क्षेत्रसँग छलफल गरी क्षेत्रगत योजनाको अवधारणालाई आधारपत्रको मस्यौदापत्रमा राष्ट्रिय परामर्शमा ल्याइएको हो ।
आधारपत्रले आर्थिक (उद्योग, वाणिज्य, आपूर्ति र पर्यटन), पूर्वाधार, कृषि तथा प्राकृतिक स्रोत व्यवस्थान, सामाजिक, लोकतन्त्र र सुशासन तथा अन्तरसम्बन्धित गरी छ वटा विषय क्षेत्रमा सोच, लक्ष्य र रणनीति तय गरेको छ ।
चालू १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गरिने १५औँ योजना अवधिमा पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना राष्ट्रिय गौरवका रुपमा सञ्चालन हुने उल्लेख छ ।
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले योजनाले समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवादोन्मुख र लोककल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार गर्ने सङ्कल्पसहित विभिन्न तीन राष्ट्रिय लक्ष्य लिएको बताए ।
उनले १४औँ योजना समाप्त हुन लागेकाले तत्काल १५औँ योजना ल्याउनु परेकाले २५ वर्षीय दीर्घकालीन सोचका लागि आयोगले थप गृहकार्य गर्ने बताए । आयोगका सचिव लक्ष्मण अर्यालले समृद्धिको लक्ष्य प्राप्तिमा योजना कोशेढुङ्गा सावित हुने बताए ।