ओपो एफ९को मूल्य घट्यो, अब ३७ हजार ९ सय मात्र |
काठमाडौं । ओपोले एफ९को मूल्य घटाउने घोषणा गरेको छ । कम्पनीले पहिले ४१ हजार ५ सय ९० रुपैयाँमा विक्रीवितरण गरिरहेको उक्त फोन अब हालैको मूल्य समायोजनपछि ३७ हजार ९ सय ९० मा उपलब्ध रहेको जानकारी दिएको हो । यही मार्च १ तारिखदेखि नै समायोजन गरिएको मूल्य लागू गरिएको कम्पनीले बताएको छ ।
ओपोले भोक प्रविधियुक्त एफ९ (४ जीबी) लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो । कम्पनीले उपभोक्ताहरूबाट प्राप्त माया र सहयोगले गर्दा विश्वसनीय ब्राण्डका रूपमा स्थापित हुन सफल भएको प्रति कृतज्ञतास्वरुप नयाँ र आकर्षक डिजाइनका साथ सस्तो मूल्यमा उक्त फोन उपलब्ध गराएको बताएको छ ।
कम्पनीले गतसालको अगस्टमा सार्वजनिक गरेको ओपो एफ९ वाटरड्रप स्क्रिन डिजाइनसहितको उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिन्छ ।
यसमा रहेको ९०.८ रेसियोसहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्यास लाइट एकैसाथ उपलब्ध छ । यसलाई झट्ट हेर्दा एकअर्कामा आकर्षित भइरहेको पानीका दुई थोपा झैं देखिन्छ ।
मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ताको आवश्यकता र चाहना बुझ्न हरदम प्रयासरत छौं । ओपो एफ९ले समय सापेक्ष रूपमा उपभोक्ताको चाहनाको सम्बोधन गरेको छ । समायोजित मूल्यले उपभोक्तालाई सेल्फी गेमको नयाँ उचाइ अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै थप उपभोक्तालाई एफ९को अनुभव लिन सहज बनाउने हाम्रो विश्वास छ ।’