काभ्रेको तिमालमा ‘पर्यटन स्मारक पार्क’ निर्माण हुने | १ अर्बको लगानीमा बन्ने पार्कमा मन्त्री अधिकारी सहितको शालिक रहने
काठमाडौं । काभ्रेको तिमालमा ‘पर्यटन स्मारक पार्क’ निर्माण हुने भएको छ । पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल रहेका मजदुर पर्यटकहरुको सम्झनामा सो पार्क बनाइने भएको हो । तिमाल गाउँपालिका र ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) को सहकार्यमा १ अर्ब रुपैयाँ लगानीमा उक्त पार्क निर्माण हुन लागेको हो ।
पर्यटन क्षेत्रमा ज्यान गुमाएका मजदुर तथा पर्यटन क्षत्रमा योगदान पुर्याएको ब्यक्तिहरुको सम्झनामा सो पार्क निर्माण गर्न टानले सन् २००८ मा नै यसको अवधारणा ल्याएको हो । पर्यटन ब्यवसायीहरुको छलफल पछि तिमालमा उक्त पार्क बनाउन सहमति भएसँगै अवलोकन भ्रमण समेत गरि काम अगाडी बढाएको हो । पछिल्लो समयमा टानले सोही क्षेत्रलाई गन्तब्य बनाएर ट्रेकिङ समेत संचालन गरिसकेको छ ।
उक्त पार्कमा बैठक हल, संग्राहलय, भ्युटावर, स्मारक स्तम्भ, पिक्निक स्पोर्ट तथा पर्यटन क्षेत्रमा योगदान दिएको ब्यक्तिहरुको शालिक निर्माण हुने भएको छ । पछिल्लो समयमा टानले उक्त पार्क बनाउनको लागि सरकारी निकाय तथा विभिन्न संघसंस्थाहरुलाई आर्थिक रकम जुटाउन समेत सहयोग माग गरेको छ ।
आफ्नै मौलिकता भएको तिमाल क्षेत्रलाई ‘ग्रेड बुद्धिष्ट मास्टर्स ट्रायल’ भनेर पनौती, तिमाल, महाभारत क्षेत्रलाई समेटेर ५ दिनदेखि करिब २ हप्ता सम्मको ट्रेकिङ, पदयात्रा मार्ग खोलिएको र यसैलाई समेटेर नै उक्त पार्क बनाउन लागिएको टानले जानकारी दिएको छ ।
अहिले टानले सो क्षेत्रमा प्राविधिकहरु सहित गएर जग्गाको पहिचान गरि त्यहाँ बन्ने भौतिक संरचनाहरुको नक्सांकन समेत गरेको छ । पुमोरी इन्जिनियरिङ सर्भिस प्रालिले उक्त पार्कको डिजाईन समेत तयार गरिसकेको छ । तिमाल गाउँपालिकाका अध्यक्ष समेत रहेका सलामसिंग लामाले आउने आर्थिक वर्षमा करिब १ करोड रुपैया बजेट विनियोजन गर्ने बताएका छन् । लामाका अनुसार प्रदेश सरकारले मात्रै उक्त पार्क र सो स्थानसम्म पुग्ने सडकको लागि १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका छन् ।
पार्कमा सगरमाथा आरोही सर एडमन हिलारी, तेन्जीङ नोर्गे शेर्पा, पासङ ल्हामु शेर्पा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायतको शालिक रहने छ । साथै आरोहणको क्रममा मृत्यु भएका ब्यक्तिहरुको नाम भने शिलालेखमा राखिने भएको छ । शालिक निर्माणको जिम्मा भने नेपाल पर्वतारोहण संघलाई दिने तयारी गरेको समेत टानले जानकारी दिएको छ ।