ग्यास उद्योगी तथा व्यवसायीहरूले आन्दोलन फिर्ता लिए, आजदेखि नै ग्यासको सहज आपूर्ति हुँदै |

काठमाडौं । गत शुक्रवारबाट आन्दोलनमा उत्रिएका ग्यास उद्योगी तथा व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमले उनीहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै अब आज बुधवारदेखि नै बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति शुरू हुने बताइएको छ ।
हिजो मंगलवार निगमले गठन गरेको समिति र ग्यास उद्योगी तथा व्यवसायीबीच आपूर्तिमन्त्री मातृका यादवसमेतको उपस्थितिमा भएको वार्तापछि आन्दोलन स्थगित गर्ने ग्यासको सहज आपूर्ति गर्ने सहमति भएको हो ।
उक्त वार्तामा निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने र ग्याससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनका लागि मार्गचित्र बनाउन उच्चस्तरीय समितिसमेत गठन गर्ने सहमति भएको छ । उद्योगी व्यवसायीले ढुवानी भाडा र कमिशन बढाउनुपर्नेलगायतका मागसहित गत शुक्रवारदेखि ग्यासको पीडीओ लिन छाडेका थिए ।
