तिर्खा लाग्यो ? अब २ रुपैयाँ ‘पँधेरो’मा खसाल्नुस्, पानी पिउनुस् |
काठमाडौं । अब तपाईंलाई काठमाडौं उपत्यकामा घुम्दाघुम्दै तिर्खा लाग्यो भने पानीका लागि कुनै किराना स्टोर्स वा अन्य कुनै रेष्टरेण्ट वा होटल पुग्नुपर्ने बाध्यता टरिसक्यो । अब तपाईं सिधै पैसा मेशिनमा खसाली मेशिनबाट पानी आफैंले झारेर पानीको प्यास मेटाउन सक्नुहुनेछ । नेपालमै पहिलोपटक काठमाडौं उपत्यकामा ‘वाटर एटीएम’ सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाले ‘पँधेरो’ नाम दिएर वाटर एटीएम सञ्चालनमा ल्याएको हो । खानेपानीमन्त्री बिना मगरले आज मंगलवार ‘पँधेरो’ नामक उक्त एटीएमबाट पानी झारेर पिएर उद्घाटन गरेकी हुन् ।
सो अवसरमा मन्त्री मगरले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँकतै चुक्न नदिन बोर्डलाई निर्देशन दिइन् । उनले भनिन्, ‘हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो, त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरूको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।’
यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले बताए । काठमाडौं उपत्यकामा यस्ता वाटर एटीएम पहिलो चरणमा २० स्थानमा जडान गरिने पनि उनले जानकारी दिए ।
उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन सकिन्छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ । एटीएममा दुई रुपैयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन सकिन्छ ।
बोर्डले सुपिङ इण्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि नेपालमा भित्र्याएको हो । वाटर एटीएम मेशिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।