फ्रि–फल जम्प प्रदर्शनका क्रममा दुर्घटना हुँदा एक सैनिक घाइते |
काठमाडौं । शिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित कार्यक्रमअन्तर्गत प्यारासुटका माध्यमबाट फ्रि–फल जम्प देखाउने क्रममा एक जना सैनिक दुर्घटनामा परेका छन् । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त फ्रि–फल जम्प प्रदर्शनका क्रममा दुर्घटना हुँदा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । उनले भने, ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो ।’
घाइते भण्डारीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रिको दिन विविध कार्यक्रम गरेर सेना दिवस मनाउने गरेको छ । त्यही परम्पराअनुसार सैनिक परमाधिपति एवम् राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा अहिले विभिन्न कार्यक्रमहरू भइरहेका छन् । कार्यक्रममा सैनिक ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै विभिन्न साहसिक खेलहरू पनि भइरहेका छन् ।