गोदामचौर बलात्कार घटनाका दोषीलाई दश वर्ष जेल |
काठमाडौं । ललितपुरमा एक वर्ष पहिले भएको सामूहिक बलात्कारपछि हत्या प्रयाससम्बन्धी घटनाका फैसला गर्दै अदालतले सजाय सुनाएको छ । तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए । सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानूनी व्यवस्था छ ।
उनीहरूमाथि गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग थियो ।
माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ ३ मंसिर विहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन । उनको एक सातापछि होस आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् ।
पीडितको टाउकोमा तीस भन्दा बढी टाँका लगाउनु परेको थियो । घट्ना भएको १६ महिनापछि पनि उनको उपचार जारी छ ।