उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटाउन मानेनन् ट्रम्पले, किमसँगको वार्ता असफल |

हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोईमा दोस्रो शिखर वार्ता सम्पन्न भएको छ ।
शिखर वार्ताका क्रममा कुनै लिखित सम्झौता नभएको बताइएको छ । हनोई वार्तापछि आयोजित पत्रकार सम्मलेनमा ट्रम्पले उत्तर कोरिया समक्ष अर्को शिखर वार्ताका लागि राखेको प्रस्तावलाई किमले अस्वीकार गरेको बताए ।
किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको ट्रम्पले बताए । प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको हो ।
गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निशस्त्रिकरण गर्ने सहमति भएको थियो । यस्तै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरु फुकुवा गर्ने समेत सहमति भएको थियो । तर पछि, दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका थिए ।
यद्यपि, दुवै राष्ट्रबीच आगामी दिनहरुमा छलफलका प्रयास भइरहने अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए ।