पाँचथर पावरको आईपीओको आवेदन आज पनि दिन सकिने |
काठमाडौं । पाँचथर पावर कम्पनीले निष्कासन गरिरहेको आईपीओको म्याद एक दिन थप गरेर आज शुक्रवारसम्म आवेदन दिन सकिने भएको छ । हिजो बिहीवार सार्वजनिक बिदा भएकाले १ दिन थप गरिएको कम्पनीले जानकारी दिएको हो ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीले हिजो बिहीवार आवेदन बन्द गर्न लागे पनि उक्त दिन सार्वजनिक बिदा भएपछि बैंक तथा वित्तीय संस्थाहरू बन्द हुने भएकाले आईपीओको आवेदनको समय थपिएको हो । विक्री प्रबन्धक कम्पनी सानिमा क्यापिटलले बताएअनुसार अस्ति बुधवार बेलुकीसम्म उक्त आईपीओका लागि २१ करोड १० लाख रुपैयाँबराबरको आवेदन परेको छ ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । निष्कासित शेयरमध्ये कम्पनीले ३५ हजार ५ कित्ता कर्मचारीलाई, ८७ लाख ५१२ कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।