दुई संस्थाको गरी ७३ करोड ३ लाख हकप्रद बजारमा आउँदै |
काठमाडौं । शेयर बजारमा नेपाल इन्स्योरेन्स कम्पनी र मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कुल ७३ करोड ३ लाख ६५ हजार १ सय रुपैयाँबराबरको हकप्रद शेयर आउने भएको छ । नेपाल इन्स्योरेन्सले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरको ४० लाख १४ हजार ६५१ कित्ता र मेरो माइक्रोफाइनान्सले ३२ लाख ८९ हजार कित्ता गरी सो परिमणको शेयर निष्कासन गर्न लागेका हुन् ।
नेपाल इन्स्योरेन्सले यही फागुन २१ गतेदेखि ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँबराबरको हकप्रद शेयर गर्ने बताएको छ । उक्त शेयरका लागि आवेदन आगामी चैत २५ गतेसम्म दिन सकिनेछ । यसको विक्री प्रबन्धक आईएमई क्यापिटल लिमिटेड रहेको छ । माघ २५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र इन्स्योरेन्सको हकप्रद खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सले यही फागुन १९ गतेदेखि शतप्रतिशत अर्थात ३२ करोड ८९ लाख रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माघ २३ गतेसम्म कायम रहेका शेयरधनीले उक्त हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
उक्त शेयरका लागि आगामी चैत २४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यसको विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।