मन्त्री अधिकारीको अन्त्येष्टि भोलि पोखरामा हुने, शव आजै पोखरा लैजाने तयारी |
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको आफ्नै गृह जिल्ला कास्कीमा हुने भएको छ । उनीको शव भोलि शुक्रवार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।
संघीय संसदका लागि कास्की क्षेत्र नं २ बाट निर्वाचित उनी पोखरा–३३ भरत पोखरीको जामुनाबोटमा जन्मिएका हुन् ।
अधिकारीको शव काठमाडौं ल्याइएपछि आज बिहीवार त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिने र त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने तथा केही बेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम रहेको छ ।
गृह मन्त्रालयले निर्णय गरेपछि काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय हिजै बुधवार गरिसकेको छ । आज बेलुकासम्ममा मन्त्री अधिकारीको शव पोखरा लैजाने तयारी भइरहेको छ ।