मन्त्री अधिकारीको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने, आज सार्वजनिक बिदा |
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको राजकीय सम्मानसाथ दाह संस्कार गर्ने निर्णय गरेको छ ।
सरकारले मन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।
सरकारले दुर्घटनाबाट राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएको छ । बैठकले दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
छानबिन समिति गठन
बैठकले दुर्घटनाका विषयमाछानबिन गरी यथाशीघ्र प्रतिवेदन बुझाउने गरी पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।