ग्लोबल आईएमई बैंकले आज ६० करोड रुपैयाँबराबरको ऋणपत्र विक्री गर्दै | ब्याजदर १०.२५ प्रतिशत, अवधि पाँच वर्ष, आवेदन दिने म्याद फागुन १९ गतेसम्म
काठमाडौं । ग्लोबल आईएमई बैंकले आजदेखि सर्वसाधारणका लागि ६० करोड रुपैयाँबराबरको ६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । बैंकले उक्त ऋणपत्र १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
निष्कास गरिएको उक्त ऋणपत्र बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ५ वर्षको अवधि राखेर निष्कासन गरेको हो । सो ऋणपत्र छिटोमा फागुन १९ गतेसम्म र पहिलो चरणमा विक्री नभएमा ढिलोमा चैत १४ गतेसम्म विक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकत ७५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सार्वजनिक निष्कासनको ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको भए पनि ३ हजार कित्ता मात्रै विक्री भएपछि बाँकी २७ हजार कित्तासमेत सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
यो ऋणपत्रले न्यून कर्जा जोखिम जनाउने रेटिङ ’इक्राएनपी एलए माइनस’ प्राप्त गरेको छ ।