सर्वाेच्चद्वारा ‘पठाओ’को सेवा रोक्न अस्वीकार |
काठमाडौं । सर्वाेच्च अदालतले ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । अदालतले प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको कम्पनी ‘पठाओ ’को सेवा रोक्न अस्वीकार गरेको छ ।
गैरकानुनी रुपमा सञ्चालन भएकाले उक्त सेवा रोक्न माग गर्दै दायर भएको एक निवेदनमा सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
न्यायाधीशद्धय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासले फैसला हुदाँ कानुन सम्वत भए∕नभएका विषयमा निर्णय हुने भन्दै हाललाई अन्तरिम जारी नहुने भनेको हो ।
पठाओको सेवा रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले माघ २८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
उक्त रिटमा पहिलो सुनुवाई गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो । दुवै पक्षको छलफलपछि सर्वोच्चले अन्तिम फैसला हुदाँ निर्णय हुने भन्दै हाललाई रोक्न नपर्ने आदेश गरेको हो ।
यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायातका लागि प्रयोग गर्न नपाइने दाबी सहित सर्वोच्चमा मुद्दा दायर भएको थियो ।
रिट निवेदक श्रेष्ठले एउटा काम गर्न भन्दै स्थापना भएको पठाओ कम्पनीले अर्कै काम गरेकोले त्यसलाई रोक्नुपर्ने जिकिर गरेका थिए ।
निजी प्रयोजनका लागि प्रयोग हुने मोटरसाइकललाई व्यापारिक फाइदाका लागि प्रयोग गर्न नपाइने पनि रिटमा उल्लेख थियो ।