भारतले पाकिस्तानमा खसाल्यो हजार किलोग्रामको बम, पाकिस्तानले भन्यो ː भारतीय आक्रमणको प्रतिकार गर्छौं |
काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेको छ । भारतीय संचार माध्यमले पुलवामा आक्रमणको बदला स्वरुप भारतले पाकिस्तान विरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको बताएको छ ।
भारतको वायु सेनाले मंगलवार बिहानै लाइन अफ कन्ट्रोल पार गर्दै पाकिस्तानमा रहेको आतंकवादी क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ । वायु सेनाले १२ मिरेज जेट बिमानबाट संदिग्ध क्याम्पहरुमा हजार किलोग्रामको बमहरु प्रहार गरेको बताइएको छ ।
यसै बिच पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले भारतमा गरेको हवाइ आक्रमणको उचित जवाफ दिने बताएका छन् । उनले स्व–रक्षाको अधिकार पाकिस्तानसँग रहेको भन्दै भारतीय हवाई आक्रमणका जवाफ दिने बताएका हुन्। । वदेशमन्त्री कुरेसीले भारतले नियन्त्रण रेखा पार गर्दै गरेको आक्रमणको जवाफ दिने अधिकार पाकिस्तानसँग भएको पीटीभीलाई बताएका छन् ।
‘भारतले आज पाकिस्तानसँग दुस्साहास गरेको छ । यो ग्रेभ एग्रेसन हो । हामीले विश्वभरलाई यस विषयमा जानकारी गराउँदै आएका छौं । यस प्रकारका हरकत हुनसक्छ भनेर गराएका थियौं,’ कुरेसीले भने,‘यो नियन्त्रण रेखाका उल्लंघन हो । भारतले यसको उचित जवाफ पाउने छ ।’
जैश ए मोहम्मदको क्याम्पमा बम आक्रमण
पाकिस्तानको खाइबर पअतुनखवा क्षेत्रमा रहेको जैश ए मोहम्मदको क्याम्प रहेको क्षेत्रमा बम खसालेको दाबी भारतिय अधिकारीहरुले गरेका छन्।् । बालाकोट, चकोथी र मुजफरवादमा रहेका लडाकुका अखडा धवस्त बनाइएको भारतीय संचार माध्यमले बताएका छन् । उक्त आक्रमणमा भएको क्षतिबारे भने भारतीय पक्षले केही बताएको छैन ।
आक्रमणपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना मन्त्रीहरुसँग छलफलमा रहेको भारतीय संचार माध्यम जनाएका छन् । छलफलमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल समेत रहेको बताइएको छ । भारत सरकारले आक्रमणको बारेमा आधिकारिक धारणा व्यक्त गरेको छैन । तर, भारतीय नेताहरुले वायुसेनाले गरेको आक्रमणको तारिफ गर्दै सामाजिक संजालमा आफ्नो रायहरु राखिरहेका छन् ।
दुबैतर्फका सेना तयारी अवस्थामा
रेडियो पाकिस्तानका अनुसार भारतीय पक्षको आक्रमणपछि पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशीले इस्लामावादमा ‘एमर्जेन्सी मिटिङ’ बोलाएका छन् । पाकिस्तानबाट हुन सक्ने जवाफी कारवाहीको मध्यनजर राख्दै भारतीय लाइन अफ कन्ट्रोलमा रहेको आफ्ना वायु सेनालाई तयार अवस्थामा रहन निर्देशन दिएको एएनआइले जनाएको छ । यस्तै पाकिस्तानी सेनालाई समेत सम्भावित कारवाहीका लागि तयार रहन निर्देशन दिइएको बताइएको छ ।
भारतको जम्मू कश्मिरको पुलवामामा फेब्रअरी १४ मा गराइएको शक्तिशाली बम आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
भारतले सो आक्रमणको जिम्मेवारी लिएको जैश ए मोहम्मदलाई पाकिस्तानको संरक्षण रहेको भन्दै पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने बताएको थियो ।
तर, पाकिस्तानले भारतीय दाबीलाई खारेज गर्दै आक्रमणमा आफ्नो राष्ट्रको समूहहरु संलग्न रहेको प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताउँदै आएको छ ।