माउन्टेन हाइड्रोको १७ लाख ३९ हजार कित्ता शेयर अर्को हप्ता |
काठमाडौं । माउन्टेन हाइड्रो नेपालले फागुन २३ गतेदेखि सर्वसाधारणको लागि १७ लाख ३९ हजार ७ सय ८८ कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
प्रभावित क्षेत्रमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता शेयर सहित सर्वसाधारण तर्फ १८ लाख १६ हजार ११० कित्ता शेयर विक्री गर्ने भएको छ । निष्काशनको ५ प्रतिशत अर्थात ९० हजार ८०५ कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाइएको भए पनि कोषहरुले जम्मा ४० लाख कित्ता मात्रै खरिद गरेका छन् ।
सामूहिक लगानी कोषले पछिल्लो समय कम्पनी छानेर मात्रै लगानी गर्न थालेको छ । म्युचुअल फण्डहरुलाई संरक्षण गर्न प्राथमिक शेयर निष्काशनमा आरक्षण दिँदा पनि उनीहरुले शेयर खरिद नगरेका हुन् ।
पछिल्लो समय हाइड्रोपावरको शेयर आधार मूल्य भन्दा तल झरेर कारोबार हुन थाले पछि प्राथमिक बजारमा शेयर विक्री हुन छाडेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवदेन दिन पाउने छन् । कम्पनीको प्राथमिक शेयरको निष्काशन पहिलो चरणमा फागुन २८ गतेसम्म र पहिलो चरणमा विक्री भएमा ढिलोको अवधिमा चैत २२ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
क्रेडिट रेटिङ ४ पाएको कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ९ वर्ष लाग्नेछ । कम्पनीले पाँचथर जिल्लामा ९.५ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको जम्मा लागत ४ अर्ब २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ रहेको उक्त आयोजनाले अवको ३० वर्षसम्म विद्युत उत्पादन गर्न पाउनेछ ।
आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरको खाता खोलेकाले अनलाइन आवेदन दिन सक्ने छन् ।