एनआईसी एशिया बैंकको ८० लाखभन्दा बढी बोनस शेयर नेप्सेमा सूचिकृत | बोनसपछि बैंकको जारी तथा चुक्ता पूँजी पुग्यो झण्डै रू. ९ अर्ब
काठमाडौं । एनआईसी बैंक लिमिटेडको गत पुस ४ गते बसेको २१औं वार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेले यही फागुन ९ गते सो बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता बोनस शेयर सूचिकृत गरेको हो ।
उक्त शेयर सूचिकृत भएसँगै अब एनआईसी एशिया बैंकको जारी तथा चुक्ता पूँजी रू. ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ पुगेको छ । बैंकका केही शेयर अझै अभौतिकीकरण भइनसकेको परिप्रेक्ष्यमा ती शेयरहरू पनि अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूलाई आग्रहसमेत गरेको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन एनआईसी एशिया बैंक सफल भएको छ ।
बैंकको हाल वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप पनि करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।