सरकारले ५ सय २१ जना रोजगार संयोजकलाई गर्यो नियुक्ति | पालिकाका प्रशासकीय अधिकृतको मातहतमा रही कार्य गर्ने
काठमाडौं । सरकारले देशभर रहेका ७ सय ५३ वटै स्थानीय तहका लागि रोजगार संयोजक नियुक्त गर्न सरकारले परीक्षा लिएकोमा उक्त परीक्षामा छनोट भएका जम्मा ५ सय २१ जनालाई संयोजक पदमा नियुक्त गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो पटक कम्प्युटर प्रणालीबाट परीक्षा लिएर रोजगार संयोजक छनोट गरी नियुक्त गरेको हो ।
यसअघि मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासुसरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्टमा राखेको थियो । सबै तहका लागि रोजगार संयोजक नियुक्त गर्न लागिएकोमा उक्त परीक्षाबाट जम्मा ५२१ जना छनोट भएका छन् ।
सर्टलिष्टमा परेकाहरूलाई कम्प्युटर स्किल परीक्षा लिई मन्त्रालयले आज नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले गत ११ र १२ गते कम्प्युटर स्किल परीक्षा लिएको थियो ।
रोजगार संयोजकका लागि जम्मा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । नियुक्त भएकाहरुलाई अब मन्त्रालयले स्थानीय तहहरूमा खटाउने भएको छ । ती खटिने संयोजकहरूले हरेक पालिकाका प्रशासकीय अधिकृतको मातहतमा रही बेरोजगारहरूको तथ्यांक संकलनका साथै रोजगारीका विषयमा परामर्श दिने बताइएको छ ।