बढ्ने भो अब सार्वजनिक यातायातको भाडा, ट्याक्सीको पनि नयाँ दर तोकिँदै |

काठमाडौं । ६ महिनाअगाडि मात्र भाडा वृद्धि गरेको सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो ।
गतअसोजमा अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर १० प्रतिशत भाडा वृद्धि गरेको थियो । दुवै पक्षबीच चारबुँदे सम्झौता भएपछि मात्र व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका थिए । उक्त चारबुँदे सम्झौतापत्रमा वैज्ञानिक तवरले भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएका आधारमा अब भाडा वृद्धि गर्न लागिएको हो ।
वि.सं. २०७२ सालमा पेट्रोलियम पदार्थका आधारमा भाडादर समायोज गरिएको थियो । त्यतिबेला पेट्रोलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र डिजेलको मुल्य ७५ रुपैयाँ प्रतिलिटर रहेको थियो सोही आधारमा १० प्रतिशत भाडादर बढाइएको हो ।
विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजस्व वृद्धि, मजदुर ज्याला, पाटपुर्जा, महँगी लगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मूल्य समायोजन गरिन्छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ रहेको छ ।
विगत २०६९ सालदेखि नै ६५ प्रतिशत सूचीका आधारमा भाडादर समायोजन नगरिएको भन्दै यसपटक समायोजन गर्न लागिएको हो । ६५ प्रतिशतमा पर्ने सबै सूचीको मूल्यवृद्धि भए पनि भाडादर नबढेको भन्दै यातायात व्यवसायीहरूले सरकारलाई दबाब दिँदै आएका छन् । उपाध्यायका अनुसार अब भने सर्वपक्षीय बैठक बसेर जतिसक्दो छिटो वैज्ञानिक भाडादर कायम गर्ने तयारी छ । विभागको रिपोर्ट, मूल्यवृद्धि र सर्वपक्षीय छलफलका आधारमा भाडादर कायम हुनेछ ।
सरकारले ट्याक्सीको पनि भाडादर नयाँ तोक्ने भएको छ । अहिले ट्याक्सीको भाडादर तोक्नका लागि गृहकार्य भइरहेको उनले बताए । ट्याक्सीमा चढ्नेबित्तिकै कति तोक्ने भन्ने निर्णयसमेत गर्न लागिएको छ । ३ किलोमिटरसम्म ५० रुपैयाँ तोक्दा उपयुक्त हुने निष्कर्ष विभागको भए पनि छलफलपछि मात्रै टुंगो लाग्ने बताइएको छ ।