पाँचथर पावरको आईपीओ आजदेखि | ९ हजार कित्तासम्म भर्न पाइने, म्याद यही फागुन १६ गतेसम्म
काठमाडौं । पाँचथर पावर कम्पनीले आज सोमवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका १६ लाख २७ हजार ७३३ कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले प्रभावित क्षेत्रका लागि छुट्याएर विक्री नभएको शेयरसमेत समायोजन गरी आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले यसअघि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि गत पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक शेयर निष्कासन गरेकोमा १ लाख ७४ हजार ५०० कित्ता शेयर मात्र विक्री भएको थियो । विक्री नभएको ७ लाख ८८ हजार कित्ता शेयर पनि समावेश गरी यसपटक सर्वसाधारणका लागि विक्री खुल्ला गरिएको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्तासम्म आवेदन दिन पाइने आईपीओका लागि सर्वसाधारणले यही फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको मितिमा शेयर बिक्री नभए ढिलोमा चैत्र १२ गतेसम्म आवेदन गर्न सक्ने विक्री प्रबन्धक सानिमा क्यापिटलले बताएको छ । आस्वा तथा सी–आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने क्यापिटलले बताएको छ ।
कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ । प्रतिमेगावाट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जम्मा लागत २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । केयर रेटिङ नेपालले गरेको क्रेडिट रेटिङअनुसार कम्पनीले ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । कम्पनीको क्रेडिट रेटिङअनुसार उक्त कम्पनीको अवस्था अन्य कम्पनीको भन्दा राम्रो रहेको बुझिन्छ ।
आयोजनाको निर्माण कार्य सकिएर २०७३ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ । आयोजनाको निर्माण कार्य सकिएर उत्पादन थालेकोले कम्पनीको क्रेडिट रेटिङ अन्य कम्पनीको भन्दा राम्रो आएको हो।