आईएमई जनरल इन्स्योरेन्सको विक्री नभएको १ लाख कित्ता शेयर लिलामीमा |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले १ लाखभन्दा बढी कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले विक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोलमार्फत लिलामीमा विक्री गर्ने भएको हो ।
उक्त शेयरका लागि फागुन २२ देखि ३० गतेसम्म आवेदन भर्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडबाट रू. १०० को फर्म भरी कबोल गर्न चाहेको रकम ग्लोबल आईएमई क्यापिटलको कुमारी बैंकमा रहेको खातामा जम्मा गरी भौचरसहित शिलबन्दी गरी आवेदन दिनुपर्नेछ ।
कम्पनीको शेयरको हालको बजार मूल्य ४१० रुपैयाँ रहेको छ । ५४ करोडको चुक्ता पूँजी १ अर्ब पुर्याउन ८० प्रतिशत हकप्रद जारी गरेको यस कम्पनीको उक्त हकप्रद सूचीकरणपछि चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ । बाँकी २ करोड ८० लाख रुपैयाँबराबर बोनस शेयर जारी गरेर ताकिएको चुक्ता पूँजी पुर्याउनेछ । कम्पनीले अघिल्लो आवको अन्त्यमा जगेडा कोषमा रहेको साढे ११ करोड रुपैयाँबाट बोनस शेयर जारी गर्नेछ ।