विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सय नाघ्यो, २ सय बिरामी अस्पताल भर्ना |

काठमाडौं । भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको संख्या १०० भन्दा माथि पुगेको त्यहाँका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार विषाक्त मदिरा सेवनबाट दुई सयभन्दा बढी व्यक्ति उपचारका लागि अस्पतालमा भर्ना गरिएकोमा केही महिलाहरू पनि रहेका छन् । बिरामी पर्ने र मृत्यु हुनेहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू रहेका छन् ।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्नेछ । दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो ।
आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरू विषाक्त मदिरा सेवन गर्न पुगेका थिए । गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ । (एजेन्सी)