यो वर्ष ५५ सबस्टेसन निर्माण र स्तरोन्नती सक्ने लक्ष्य छ ː कुलमान घिसिङ |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५∕ ७६ मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने भएको छ । लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणले जानकारी दिएको छ ।
चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । ३ दिनको बीचमा निर्माण सम्पन्न भएका पाँच वटा सबस्टेसनको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गरेका थिए । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३ ∕११ केभी र पहलमानपुर १३२ ∕ ३३ ∕११ केभी सबस्टेसनको उद्घाटन गरेका छन् । मन्त्री पुनले विहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न भएका १३२ ∕ ३३ केभी सबस्टेसनको उद्घाटन गरेका छन् ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका मन्त्री पुनले आगामी दिनमा मुलुकभित्र उत्पादित विद्युतलाई स्वदेशमै गराउने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं स्तरोन्नती अभियानकै रुपमा संचालन भइरहेको बताए । ‘विगतमा विकराल लोडसेडिङका कारण हामी अंध्यारोमा थियौं, अहिले लोडसेडिङ अन्त्य भई उज्यालो हुँदा रमाइरहेका छौं, अब यसैमा रमाउने मात्रै हैन विद्युत खपत बढाउन उद्योग कलकारखाना खोल्नतर्फ लाग्नु पर्छ,’ उनले भने, ‘अहिले बिजुली दिनुहोस भन्ने जनताको माग छ, अब यसको अन्त्य भई विजुली पर्याप्त खपत गरी उत्पादन बढाई जीवनयापनमा सुधार गर्नुहोस भन्ने अवस्था आउँदैछ, यसका लागि विद्युत प्रसारण तथा वितरणका संरचना पनि सोही अनुसार बनाइरहेका छौं ।’