नेपालमा पहिलो महिला क्षेत्रीय ऊर्जा सम्मेलनको आयोजना |
काठमाडौं । नेपालले पहिलो पटक उर्जा क्षेत्रमा महिलाको सहभागिता सम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना गरेको छ । दक्षिण एसियाको उर्जा क्षेत्रमा महिला सहभागिता सम्बन्धी सम्मेलनमा दक्षिण एसियाली देशहरुबाट २५० भन्दा बढी इन्जिनियर र विशेषज्ञहरुले भाग लिएका छन् ।
विश्व बैंक मुख्य आयोजक रहेको यस सम्मेलनमा एसियाली विकास बैंक, अस्ट्रेलियन एडलगायत संस्थाको सहयोग रहेको छ । स्थानीय र अन्तरराष्ट्रिय स्तरबाट ६० भन्दा बढी संस्थाहरुले सहभागिता जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव प्रवीण राज अर्यालले २ दिने कार्यक्रमको उद्घाटन गरेका थिए ।
अर्यालले दक्षिण एसियाको विकास रणनीतिका लागि पूर्वाधार विकास महत्वपूर्ण भएपनि यसमा महिलाहरुलाई अवसरको कमी देखिएको बताएका छन् । उर्जा तथा पूर्वाधार विकासमा लैगिंक विविधता आवश्यक रहेको उनले बताए ।
ऊर्जा परियोजनामा महिलाहरुको सहभागिता बढाई स्तर परिवर्तनका लागि सहयोग पुर्याउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।