१० जना जुवाडे ५५ हजार रकमसहित पक्राउ |

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुले काठमाडौंको दुई स्थानबाट जुवातास खेल्ने १० जनालाई ५५ हजार रकमसहित तास खेलिरहेको अवस्थामा रंगे हात पक्राउ गरेको छ ।
प्रहरीले हिजो बुधवार अपरान्ह १५ः३० बजे माछापोखरीस्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बा. ३ ख ८९३१ नम्बरको बसमा धादिङका रामकृष्ण सेढाईंसहित ५ जना रहेको र उनीहरूलाई १ बुक तास र नगद रू. ४४ हजार ९ सय ३५ सहित नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यसैगरी, हिजो यसै गरी हिजै बुधवार बेलुकी साढे ५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका–८, जंरखु गैरीगाउँस्थित गोपाल तामाङको मसला उद्योगमा जुवातास खेलिरहेको अवस्थामा गोपाल तामाङसहित ५ जनालाई एक बुक तास र नगद रू. १० हजार सहित नियन्त्रणमा लिएको छ । यी दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।