नेपालमा रहेका गायक सोनु निगम नर्भिक अस्पताल भर्ना |
काठमाडौं । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।
उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाल लगायतको टिमले उनको उपचार गरिरहेको छ ।
एमआरआईको रिपोर्ट हेरेपछि आज उनलाई होटल फर्काउने कि अस्पतालमै राख्ने भन्ने कुरा थाहा हुने अस्पताल स्रोतले बताएको छ ।
यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि उनी पोखराको कार्यक्रममा आएका थिए । उनले भारतीय गीतहरुका साथै नेपाली चलचित्रहरुमा समेत स्वर दिदै आएका छन् ।