शिवम् सिमेण्टको आईपीओ आजदेखि विक्री खुल्ला | प्रभावित क्षेत्रका बासिन्दाका लागि अब २०० रुपैयाँ प्रतिकित्ता
काठमाडौं । शिवम् सिमेण्टले प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) आजदेखि विक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाका लागि २०० रुपैयाँ प्रतिकित्तामा उक्त आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले यसअघि प्रभावित क्षेत्रमा प्रतिकित्ता ३०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता निष्कासन गरेकोमा २ लाख २४० कित्ताको लागि मात्रै आवेदन परेको थियो ।
प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयर विक्री नभएपछि कम्पनीले उक्त शेयरमा प्रतिशेयर १०० रुपैयाँ प्रिमियम घटाएर पुनः विक्री खुल्ला गरेको छ । कम्पनीले १ सय रुपैयाँ प्रिमियम घटाएर यसअघि ३०० रुपैयाँको दरले शेयर खरिद गरेकालाई थप १ लाख १२० कित्ता शेयर बाँडफाँट गरेको छ । यदि प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याएको शेयर विक्री नभएमा त्यो शेयर सर्वसाधारणलाई बाँडफाँट गरिने कम्पनीले बताएको छ ।
उक्त दुवै शेयरका लागि आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम खुला गरिएबराबरकै लागि आवदेन दिन सक्ने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले बताएको छ । नेपाल धितोपत्र बोर्डबाट आस्बा सुविधा प्राप्त बैंक तथा वित्तीय संथाहरूबाट आवदेन दिन पाइने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले उक्त शेयर छिटोमा फागुन ९ गतेसम्म र पहिलो चरणमा विक्री नभएमा ढिलोमा चैत ५ गतेसम्म विक्री खुला गर्ने बताएको छ ।