इन्भेष्टमेन्ट बैंकले २ अर्बको ऋणपत्र निष्कासन गर्दै |
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकमध्ये अधिकतम नाफा आर्जन गर्नेमा तेस्रो नम्बरको नेपाल इन्भेष्टमेन्ट बैंकले रू. २ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि गराइएको क्रेडिट रेटिङअनुसार ‘इक्रा एनपी एलए प्लस’ बैंकले प्राप्त गरेको छ । यो ‘इक्रा एनपी एलए प्लस’ ले पर्याप्त सुरक्षाको आधार जनाउँछ ।
बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रूपमा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले यसअघि पनि ७५ करोड रुपैयाँको एनआईबी बण्ड २०७८ र ५० करोड रुपैयाँको एनआईबी बण्ड २०७६ निष्कासन गरिसकेको छ । जसध्ये ७५ करोड रुपैयाँको एनआईबी बण्ड २०७८ को पुनः रेटिङ गराएको छ । पुनः गरिएको रेटिङमा पनि बैंकले ‘इक्रा एनपी एलए प्लस’ प्राप्त गरेको छ ।
दुवै ऋणपत्रको व्याजदर ८ प्रतिशत छ । क्रेडिट रेटिङ गरे पनि बैंकले नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन । बोर्डको पछिल्लो निर्देशनअनुसार बैंकहरूले ऋणपत्र निष्कासन गर्दा ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याउनुपर्नेछ । बैंकको पूँजीकोष अनुपात ११.९० प्रतिशत रहेको छ । चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । निक्षेप तथा कर्जाको दायरा बढ्दै जाँदा बैंकहरूलाई बफर क्यापिटलको व्यवस्था गर्ने सुझाव आइरहेको छ ।