काठमाडौं महानगरमा फेरि रात्रिकालीन बस सेवा, साझासँग छलफल जारी |

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र रात्रिकालीन बस सञ्चालन गर्न साझा यातायातसँग छलफल थालेको छ । साझा यातायात तयार भए काठमाडौंमा छिट्टै रात्रिकालीन बस सेवा सञ्चालनमा आउने महनगरपालिकाले बताएको छ ।
साझाले हाल अबेर अबेरसम्म दिइरहेको वीर अस्पताल, शिक्षण अस्पताल क्षेत्रको सेवालाई थप विस्तार गरेर नगरभित्रका सबै क्षेत्रमा राति पनि बस सेवा पुर्याउन पहल थालिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिएका हुन् ।
उनका अनुसार अहिले साझासँग बस सञ्चालन गर्ने रुटबारे छलफल भइरहेको छ । रात्रिकालीन सेवाका बारेमा साझा तयार भए पनि उसले सुरक्षाको प्रत्याभूति खोजेको बताइएको छ ।
रात्रिकालीन बस सञ्चालन खर्चिलोसमेत हुने भएकाले यसबारे समेत छलफल भइरहेको बताए । सुरक्षाका विषयमा प्रहरीसँग सहकार्य गर्न सकिने भए पनि खर्चको विषयमा टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ । विगतमा पनि महानगरपालिकाले रात्रिकालीन बस सञ्चालन गरेको थियो । तर केही समयपछि नै त्यो बन्द भएको थियो ।