प्रेसिडेन्ट सेकुवा अब भरतपुरमा पनि, लगानी रू. १ करोड | किड्स प्ले रुम, व्यावसायिक मिटिङ, वार्षिक साधारणसभाका लागि एसीसहितको हल

चितवन । चितवनको भरतपुर महानगरपालिकामा रू. १ करोडको लगानीमा ‘प्रेसिडेन्ट सेकुवा’ नामक नयाँ रेष्टुरेण्ट पर्सि सोमवारदेखि सञ्चालनमा आउने भएको छ । राजधानी काठमाडौंमा चर्चित बनेको ‘प्रेसिडेन्ट ग्रुप अफ होटल’ले आफ्नो आठौं शाखा भरतपुरमा सञ्चालन गर्न लागेको हो ।
घरकै शैलीमा फरकपनका साथ मौलिक खानाका परिकारहरूसहित भरतपुरमा आफ्नो शाखा सञ्चालन गर्न लागिएको हिजो शुक्रवार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी प्रेसिडेन्ट सेकुवाले जानकारी दिएको हो ।

प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले भने, ‘चितवनवासी र यस वरपरका खानाका पारखीहरूलाई प्रेसिडेन्ट सेकुवा भरतपुरमा पनि सञ्चालनमा आउन लागेको कुरा जानकारी गराउन पाउँदा निकै हर्षित भएका छौं, यहाँका सेकुवापारखीहरूको मागलाई दृष्टिगत गरी शाखा सञ्चालनमा ल्याउन लागेका हौं ।’
अध्यक्ष भण्डारीका अनुसार बजारमा सञ्चालन भइरहेका सेकुवा कर्नरहरूको भीडमा आफ्नो छुट्टै विशेषतासहित प्रेसिडेन्ट सुकुवाले आफ्नो शाखा विस्तार गर्न लागेको हो । शुभारम्भको अवसरमा ५ गते प्रेसिडेन्टको खानाको स्वाद चाख्ने कार्यक्रम र ६ गते शुभारम्भ कार्यक्रम राखिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

भरतपुरमा सञ्चालनमा आउने शाखामा किड्स प्ले रुम, व्यावसायिक मिटिङ, वार्षिक साधारणसभा तथा शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक भण्डारीले बताए । किड्स प्ले रुममा बच्चाहरुलाई निःशुल्क व्यवस्था गरिने भण्डारीले बताए ।
हाल यस कम्पनीका राजधानीमा छवटा तथा भ्यालीबाहिर लुम्बिनीमा एउटा शाखा सञ्चालनमा रहेका छन् ।