चितवनमा २३ जुवाडे ९ लाख रकमसहित पक्राउ |
चितवन । चितवनको भरतपुर महानगरपालिकाबाट ९ लाख ३३ हजार नगदसहित २३ जुवाडे पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलमा गएराति १२ बजे छापा मार्दा ती जुवाडेहरूलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुख तथा एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।
एसपी राठौरले भने, ‘उक्त स्थानमा जुवा खेलाइरहेको विश्वस्त सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङको नेतृत्वमा टोली छापा मारिएको र उक्त परिमाणमा रकम र ती जुवाडेहरू पक्राउ परेका हुन् ।’
नियन्त्रणमा लिइएकाहरू गोरखा, चितवन र तनहुँका व्यक्तिहरू भएको बताइएको छ । तर, जुवाडेहरूले भने भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेलेको बताएका छन् । नियन्त्रणमा लिइएकाहरूलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने एसपी राठौरले बताए । गत तिहार अवधिभर पनि चितवन प्रहरीले जुवा तास खेल्नेविरुद्ध अप्रेशन चलाएर १ सय २० जुवाडे पक्राउ गरी कारबाही चलाएको थियो ।