शिखर इन्स्योरेन्सको नाफा २१ करोडमाथि |
काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिमा नाफा १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
१ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको शिखरले जगेडाकोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ९५ करोड ७१ लाख रुपैयाँ राखेको छ ।
शिखर इन्स्योरेन्सले कुल बीमा शुल्क १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३ दशमलव ३८ प्रतिशतले बढेको छ । गत वर्ष कुल बीमा शल्क १ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
यस आवमा कुल दावी भुक्तानी ४२ दशमलव ५८ प्रतिशतले बढेर ७४ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनी दावी भुक्तानी ५१ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
यस कम्पनीको जारी बीमा लेख संख्या १ लाख ५९ हजार ९०९ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या ३ हजार ७२१ वटा रहेको छ । भुक्तानी हुन बाँकी दाबी ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । भुक्तानी हुन बाँकी दाबी संख्या ४ हजार १७६ वटा रहेको छ ।
शिखर इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक ४० दशमलव १ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३ दशमलव २७ गुणा, प्रति शेयर नेटवर्थ २२८ दशमलव ५१ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य ४२५ दशमलव ३४ रुपैयाँ रहेको छ ।