भीभो भी १५ प्रो नेपाली बजारमा आउँदै, मूल्य रू. ५० हजार | भारतमा यही महिनामा भीभो भी १५ र भीभो भी १५ प्रो सार्वजनिक गर्ने घोषणा
काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी भीभोले नेपाली बजारमा भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने भएको छ । उक्त कम्पनीले आगामी मार्चको पहिलो सातामा भीभो भी १५ र भीभो भी १५ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । तर, कम्पनीले नेपाली बजारमा भने भीभो भी १५ प्रो मात्र सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले छिमेकी मुलुक भारतमा भने यही फेब्रुअरी महिनाभित्रैमा यी दुवै मोडलका स्मार्ट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ ।
भीभोले हालै मात्र आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ । उक्त टिजरमा कम्पनीले पप–अप सेल्फी क्यामरा राखिएको देखाएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोही थेमलाई भी १५ सिरिजमा पनि कायम राखिएको कम्पनीले बताएको छ ।
यो स्मार्टफोनमा सुपर एमोलेड डिस्प्ले राखिएको छ भने फोनमा स्न्यापड्रागन ६७५ चिपसेट रहेको हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ ।
हालै अमेजन इण्डियाको अफिसियल ल्याण्डिङ पेजमा देखिएअनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । उक्त पेजको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानर राखिनेछ । भीभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रण्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ ।
यही फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सुपर एमोलेड फूल एचडी प्लस स्क्रिन रहेको छ । त्यसैगरी फोनमा स्न्यापड्रागन ६७५ चिपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ ।
यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारू अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । सो स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुने कम्पनीले बताएको छ तर, यसको प्रि अर्डर भने ५ दिन अगाडि नै शुरू हुने बताइएको छ ।
यसअघि ब्ल्याक र रेड ग्रेडिएन्ट ह्यू कलर अप्सनमा मात्र उपलब्ध हुने अुनमान गरिएको भीभो भी १५ प्रो ब्लू कलर अप्सनमा पनि आउन सक्ने बताइएको छ । भी १५ प्रोमा भएको पपअप सेल्फी क्यामरा, नयाँ कलर अप्सन, उच्च क्षमताको प्रोसेसर र र्यामका साथमा भीभो भी १५ प्रोको लन्चसँगै भीभोले ग्राहकहरूलाई धेरै अप्सनसहित आकर्षित गर्न सक्नेछ ।
नेपाली बजारमा भीभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँभन्दा माथि तोकिन सक्ने अनुमान गरिएको छ ।