प्रधानमन्त्री रोजगार कार्यक्रमकोे घोषणा आज, कसले पाउँछन् बेरोजगार भत्ता ? |
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमकोे उद्घाटन गर्दै छन् । यस कार्यक्रममा समावेश हुनेहरुको तथ्यांक भने आगामी चैतबाट संकलन गरिने भएको छ । अहिले कार्यक्रमको उद्घाटन मात्र हुने छ ।
७५३ वटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनौट प्रक्रिया चलिरहेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले फागुनभित्र रोजगार प्रतिनिधि छनौट गर्ने र चैत्रभित्र बेरोजगारको तथ्याङ्क संकलन गरिसक्ने बताए ।
संकलन भएको तथ्याङ्कलाई प्रमाणीकरण गरिसकेपछि घरको कुनैपनि सदस्यले आयआर्जन नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई विभिन्न सरकारी आयोजनामा रोजगारी दिइने छ । त्यसरी रोजगारी दिन नसकेमा बेरोजगार भत्ता दिने सरकारको तयारी छ ।
कस्ताले पाउँछन् भक्ता ?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको कार्यक्रममा एक आर्थिक वर्षमा न्यूनतम सय दिनको रोजगार सरकारले दिन नसके त्यत्ति नै दिनको निर्वाह भत्ता दिने बताएको छ ।
परिवारका कुनै पनि सदस्य सरकारी, गैरसरकारी, वैदेशिक रोजगारीमा छन् भने र एकमात्र सदस्य बेरोजगार छ भने त्यस्ताले भत्ता पाउँदैनन् । भत्ता पाउन घरपरिवारका कुनै पनि सदस्य रोजगारीमा नभएको हुनुपर्ने प्रावधान छ । चालु आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
निर्वाह भत्ता पाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिकाअनुसार परिवारको कुनै पनि सदस्य रोजगारमा संलग्न भएको हुनुहुन्न । सरकारले तोकेभन्दा कम आम्दानी भएका परिवारले सामान्य रोजगारीसम्म नपाएको र परिवारका सबै सदस्य बेरोजगार भएमा भत्ता दिनेछ ।
परिवारका कुनै पनि सदस्य विदेशमा भएमा रोजगारी भएको मानिन्छ । चैत मसान्तभित्र बेरोजगार व्यक्तिको सूची तयार गरी निर्वाह भत्ता दिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए । सूची तयार गरी असार २६ गतेभित्र बैंकमार्फत निर्वाह भत्ता दिने मन्त्री विष्टले बताए । न्यूनतम तलबको ५० प्रतिशत भत्ता दिने मन्त्रालयले जानकारी दिएको छ ।