नेपाल टेलिकमको सहयोग बागमती सफाइ महाअभियानलाई |
काठमाडौं । नेपाल टेलिकमले बागमती सरसफाइका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव पारेर ती सामग्री बागमती सफाइ महाअभियानलाई प्रदान गरेको हो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशिष घिमिरेलाई मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रमका बीच ती सफाइका सामग्री हस्तान्तरण गरेका हुन् ।
सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अंकित १ सय २५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोकोरथुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप नेपाल टेलिकमले उपलब्ध गराएको छ ।
साथै, कम्पनीले सो कार्यक्रमका लागि मञ्चको व्यवस्थापनसमेत गरेको थियो । कार्यक्रममा बागमती सफाइ महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई उक्त प्रशंसा पत्र प्रदान गरेका हुन् ।