भारत नेपाललाई जलमार्ग दिन सहमत | नेपाललाई जलमार्ग दिन भारत सहमत, पाँचवटा नाका खोल्न अध्ययन अघि बढाउने सहमति
काठमाडौं । नेपाल र भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरवेज’ अर्थात् जलमार्ग दिनका लागि भारत सहमत भएको छ । पोखरामा वाणिज्य सन्धि पुनरवलोकनका लागि बिहीवार र शुक्रवार बसेको द्विपक्षीय बैठकमा जलमार्गलाई ट्रान्जिटी ट्रिटीमा राख्ने र ट्रेड रुट डिफाइन गरेर जलमार्ग प्रयोग गर्ने विषयमा भारत सहमत भएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूले जानकारी दिएका हुन् ।
भारत अब जलमार्गलाई पनि ट्रेड रुट (व्यापारिक मार्ग) मा समावेश गर्न सहमत भएको छ । यसअघि ट्रेड रुटमा सडक र रेलमार्ग मात्रै रहेका थिए । बैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजू र भारतको तर्फबाट वाणिज्य सहसचिव भुपेन्द्र भल्लाले नेतृत्व गरेका थिए । सहसचिव सैंजूका अनुसार वाणिज्य सन्धिमा केही प्रोभिजनहरू सुधार र समसामयिक बनाउन एउटाएउटा विषयमा डिटेलमा छलफल गरिएको थियो ।
यसैगरी, निर्यातमा केही सुविधाहरू पाए यहाँका उत्पादनसँग सम्बन्धित उद्योगहरू बढाउने विषयमा पनि छलफल भएको थियो । त्यस्ता स्वदेशी उद्योगको उत्पादन बढाउन सकिए निर्यात गरेर भारतसँगको व्यापारघाटा कम गराउन सकिने उनले बताए । त्यस्तै, भ्यालु एड ३० प्रतिशतबाट घटाएर २० प्रतिशत बनाउन नेपालले प्रस्ताव गरेको छ । भारतले यसमा सकारात्मक प्रतिक्रिया दिएको छ । कच्चा पदार्थ तेस्रो मुलकबाट ल्याउनुपर्ने नीतिका विषयमा पनि पुनरवलोकन गर्ने विषयमा छलफल भएको उनले बताए ।
भन्सारका महानिर्देशकको बैठकमा निर्णय भएको पाँचवटा नयाँ नाका खोल्ने विषयमा पनि अध्ययन अघि बढाउने सहमति उक्त बैठकमा भएको छ । त्यस्तै, भन्सार विन्दुलाई सहजीकरण गर्ने, पूर्वाधारको विकास गर्नेलगायतका विषयमा छलफल भएको छ । अहिले रहेको झन्झटिलो भन्सार प्रक्रियाका कारण खासगरी नेपाली सामान निर्यातमा समस्या हुने गरेकोमा उक्त प्रक्रियामा पनि सहजीकरण गर्न भारत सहमत भएको छ ।
त्यसैगरी, भन्सारमा रहेका नेपाली ल्याबहरूलाई भारतकै सरह मान्यता दिनुपर्ने प्रस्ताव नेपालले राखेको छ । हाल उनीहरुकै ल्याबमा टेष्ट गराउनुपर्ने अवस्था छ । दुई देशका बीचमा समझदारी बढाएर अघि बढ्ने निर्णय नेपालका लागि फलदायी भएको सैंजूको दाबी छ । उक्त बैठकमा भारतले भने कुनै प्रस्ताव नराखेको उनले बताए ।
बैठकमा वाणिज्य सन्धिको प्राविधिकसहित सबै पक्षको संशोधन, परिमार्जन सुझावहरूका विषयमा औपचारिक दस्तावेज बनाएर आदान प्रदान गर्ने सहमति भएको सैंजूले बताए । अब अर्को बैठक दिल्लीमा हुनेछ । नेपालमा यो बैठक प्राविधिक विषयमा ड्राफ्ट तयार पार्नका लागि गरिएको थियो । दिल्लीमा हुने बैठकले ड्राफ्टलाई अन्तिम रूप दिई संशोधनका लागि सिफारिश गर्ने सैंजूले बताए ।