उन्नति माइक्रोफाइनान्सको ४२ प्रतिशत लाभांश पारित, २० प्रतिशत हकप्रद पनि दिने भो |
काठमाडौं । भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४० दशमलव ५० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ २ दशमलव १३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाले ५ः१ को अनुपात अर्थात् २० प्रतिशत हकप्रद शेयरसमेत जारी गर्ने निर्णय गरेको छ ।
संस्थाको आज शनिवार सम्पन्न चौथो साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । उक्त साधारणसभाले पाँचवटा सामान्य र सात वटा विशेष प्रस्ताव पास गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव प्रेमबहादुर पाठकले बताए ।
उनका अनुसार सभाले अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने, कार्यक्षेत्र विस्तार गरी संस्थालाई राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने, संशोधन तथा परिमार्जनमा सञ्चालक समितिलाई अख्तियारी र मर्जर तथा गाभ्ने÷गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जानेलगायत कामकारबाहीका लागि समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पारित गरेको छ ।
४४ करोड ५१ लाख निक्षेप संकलन गरी एक अर्ब ३६ करोड कर्जा प्रवाह गरेको संस्थाले हाल ३९ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ ।