मार्जिन कारोबारको प्रकृया अगाडि बढेन, नेप्से सञ्चालक समिति बैठक बस्न ढिलाई |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा मार्जिन कारोबारको लागि निर्देशन जारी गर्न नेप्सेले नसकेको हो । नेपाल धितोपत्र बोर्डले अघिल्लो शुक्रबार मार्जिन कारोबारको लागि आवश्यक प्रकृया अगाडि बढाउन नेप्से र ब्रोकरहरुलाई निर्देशन जारि गरेको भए पनि अहिलेसम्म कुनै पनि प्रकृया अगाडि बढाइएको छैन ।
बोर्डका केही सञ्चालकहरु बैठकमा उपस्थित हुन नसकेपछि प्रकृया अगाडि नबढेको हो । केहि दिनमा बैठक बसेर मार्जिन कारोबारका लागि प्रकृया अगाडि बढाइने बताइएको छ ।
बोर्डले स्वीकृति गरेसँगै मार्जिन कारोबारका लागि तयार भएको कार्यविधि अनुसार ब्रोकरलाई पत्राचार गरिने छ ।
वित्तीय कारोबारको सम्बन्धमा नेपाल राष्ट्र बैंक स्वत आकर्षित हुने भएकाले नेप्से र बोर्डले निर्देशन पर्खेर बसेका छन्। धितोपत्र बोर्डले गत शुक्रवार निर्देशन जारि गर्नु अगाडि राष्ट्र बैंकबाट मौखिक स्वीकृति पाएको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार नेपालभित्र हुने सम्पुर्ण वित्तीय कारोबारको नियमन गर्ने अधिकार राष्ट्र बैंकसँग रहेको छ । यसका साथै बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा मार्जिन कारोबार सम्बन्धि कुनै पनि व्यवस्था नहुँदा राष्ट्र बैंक र धितोपत्र बोर्डबीच मतभेद रहँदै आएको छ ।