सरकार आफैँले निजगढ विमानस्थल बनाउन सक्छ ː मन्त्री अधिकारी |

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थल निर्माणका लागि अन्तरराष्ट्रिय दाताको खोजी भइरहे पनि विश्वासिलो आधार नभए सरकार आफैँले काम अघि बढाउने भएको छ ।
नेपाल इञ्जिनीयर्स एशोसिएशनले आयोजना गरेको ‘निजगढ अन्तरराष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य’ विषयक अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार बिमानस्थल निर्माणमा प्रतिवद्घ रहेको बताए ।
निजगढ विमानस्थल निर्माणको मोडालिटीबारे चरणबद्ध छलफल चलिरहेको भन्दै आगामी तीन महीनाभित्र निर्माणको टुङ्गो लाग्ने मन्त्री अधिकारीले जानकारी दिए । मुख्य पूर्वाधार रोकेर देशअगाडि बढ्न नसक्ने उल्लेख गर्दै उनले वातावरणकै विषयको विवादले विमानस्थल निर्माणलाई अवरोध गर्न नहुने धारणा राखेका थिए ।
निर्माणाधीन भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले निजगढ विमानस्थलको आवश्यकता पूरा नहुने बताउदै मन्त्री अधिकारीले भने, “निजगढ विमानस्थल नै सबैभन्दा बढी प्राथमिकताको आयोजना हो अरू आयोजना अघि बढेसँगै प्रगति पनि हासिल गरेका छन् तर महत्वपूर्ण प्राथमिकताको आयोजना नै गति नलिनुले गम्भीर बनाएको छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले विकास र आर्थिक समृद्धिका हिसाबले निजगढ विमानस्थल उपयुक्त विकल्प भएकाले कमभन्दा कम वातावरणीय क्षति हुने गरी आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिए ।
पूर्वाधारविद् डा सूर्यराज आचार्यले दीर्घकालीन महत्वको आयोजना हतारमा निजी क्षेत्रलाई दिन नहुने भन्दै आयोजना निर्माण अघि बढाउन रणनीतिक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) गरिनुपर्नेमा जोड दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख प्रदीप अधिकारीले हरेक हिसाबले उपयुक्त निजगढको विकल्प नखोजी स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने बताए । एशोसिएशनका महासचिव छविराज पोखरेलले संस्थाले पूर्वाधार विकास बहस कार्यक्रमको शृङ्खलाअनुरुप राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणको सान्दर्भिकताबारे विज्ञहरुसँगको छलफल गरिएको उल्लेख गरेका थिए ।