युनिभर्सल पावरको आईपीओ आजदेखि | ५० कित्तादेखि ५० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने
काठमाडौं । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) आजबाट विक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर विक्री खुला गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि निष्कासन गरेको शेयर विक्री भइनसकेकाले उक्त विक्री नभएको १७ लाख ६६ हजार १ सय ५० कित्तासमेत गरी ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित जनताका लागि भनेर पहिलो चरणमा आईपीओको विक्री खुला गरेको थियो ।
यो आईपीओका लागि सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
जम्मा २ करोड १० लाख ३ हजार ५ सय कित्ता शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयका लागि २१ लाख ३५० कित्ता शेयरको विक्री खुला गरेको थियो ।
अहिले निष्कासन भएको शेयरमध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीका लागि, ४ लाख ६६ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यो आईपीओका लागि सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिने र यसको अन्तिम म्याद माघ २९ गतेसम्म रहेको कम्पनीले जानकारी गराएको छ । यो अवधिसम्ममा पनि पर्याप्त आवेदन नपरेमा भने फागुन २६ गतेसम्मको समय थप हुनेछ ।
युनिभर्सलले दोलाखा जिल्लामा ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ रहेको छ ।