सीएपीए सम्मेलनमा कतार एयरवेज ग्रुपका प्रमुख अधिकृतद्वारा मन्तव्य प्रस्तुत |

दोहा, कतार । सीएपीए कतार उड्डयन, हवाई तथा नियामक सम्मेलन (कतार एभिएशन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट) मंगलबार ५ फेब्रुअरी देखि दोहाको शेराटन होटेलमा शुरु भएको छ ।
कतार एयरवेजका यातायत, सूचना तथा सञ्चार मन्त्री जसिम बिन सैफ अल सुलैटीको सहायता एवं कतारका नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष अब्दुल्ला बिन नासेर टुर्की अल–सुबेको मुख्य उपस्थितिमा आयोजना भएको उक्त सम्मेलनमा राजदूत एवं उड्डयन उद्योगका उच्च पदाधिकारी तथा वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो । यस किसिमको कार्यक्रम मध्य पूर्वी क्षेत्रमा पहिलो पटक आयोजना भइरहेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख अधिकृत अकबर अल बकरले सम्मेलनको पहिलो दिन उड्डयन उद्योगका अन्तरराष्ट्रिय प्रतिनिधि तथा निर्णयकर्ताहरु समक्ष आफ्नो मन्तव्य पेश गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ʽकतार एयरवेजले नाकाबन्दी तथा विभिन्न चुनौतीहरुको दृढतापूर्वक सामना गर्दै आएको छ । जसले सम्पूर्ण कतार राज्यको सहनशिलता प्रतिबिम्बित गर्दछ । चुनौतीपूर्ण समयमा अडिग रही उक्त परिस्थितिलाई अझ हामीले नवप्रवर्तन तथा विविधीकरणका लागि उपयुक्त अवसरका रुपमा लिएका छौँ । बजारमा लगानी एवं नयाँ सदस्यहरुको सहभागिता प्रोत्साहन गर्ने नियामक वातावरण सुनिश्चित गर्नु नै हाम्रा मुख्य उद्देश्यहरु मध्ये एक हो । स्वतन्त्र उड्डयनले सबैलाई जोड्दै आर्थिक समृद्धिमा सहायता पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा हामी दृढतापूर्वक विश्वास गर्दछौँ ।ʼ